काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीलाई बधाई दिएकी छन्। उनले नयाँ नेतृत्वप्रति शुभकामना व्यक्त गर्दै, बदलाको भावनाभन्दा माथि उठेर काम गर्न सुझाव दिएकी छन्।
उपप्रमुख डङ्गोलले भनेकी छन्, “यो तपाईँका लागि केवल ऐतिहासिक र गौरवमय क्षण मात्र होइन, अपितु बदलाको भावनाभन्दा माथि उठेर, जेनजी लगायत समस्त न्यायप्रेमी जनताको भावना अनुरूप मुलुकमा न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम अवसर पनि हो।”
उनले थपे, “हामी सम्पूर्ण महिला दिदीबहिनीहरूको दृढ आशा छ, नवनियुक्त प्रधानमन्त्रीले नयाँ पुस्ताको आकांक्षा र शहीदहरूको अविस्मरणीय बलिदानलाई सम्मान गर्दै यस गहन जिम्मेवारीलाई नेतृत्वले द्वन्द्वको सट्टा संवाद, विभाजनको स्थानमा एकता, निराशाको अन्त्य गरी आशाको सञ्चार र सुशासनको मार्गमा मुलुकलाई अगाडि बढाउनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु।”
उपप्रमुख डङ्गोलको यो अभिव्यक्तिले नयाँ प्रधानमन्त्रीप्रति आम जनताको अपेक्षा र समर्थनलाई प्रतिबिम्बित गरेको छ।












