काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले Gen-Z विद्रोहपछिको नयाँ परिस्थितिमा वर्तमान निर्णय ‘दोस्रो राम्रो विकल्प’ भएको बताएका छन्।
भट्टराईको भनाइअनुसार, आन्दोलनकारीहरूसँग सहमति गरेर आकस्मिक संसद बैठकमार्फत संविधान संशोधन गरी नयाँ प्रधानमन्त्रीको नियुक्ति गर्ने र त्यसपछि प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन गरेर नयाँ निर्वाचनमा जान सकिएको भए उत्तम हुने थियो। तर आन्दोलनकारीले त्यसलाई नमान्दा र पुराना दलहरूले पनि आलटाल गर्ने सम्भावना देखिएपछि दोस्रो विकल्प रोजिएको उनको टिप्पणी छ।
उनले भने, “राष्ट्रपतिले राष्ट्रध्यक्षको रूपमा संविधानले सामान्यतः दिने अधिकार र जिम्मेवारी प्रयोग गर्दै संसदबाहिरबाट नयाँ प्रधानमन्त्री नियुक्त गर्ने, त्यसपछि नयाँ प्रधानमन्त्रीले सिफारिस गरेबमोजिम संसद विघटन र नयाँ निर्वाचन घोषणा गर्ने बाटो नै दोस्रो राम्रो विकल्प हो।”
भट्टराईले आफूले पनि यही सुझाव सम्बन्धित सबै पक्षलाई दिएको जानकारी दिँदै वर्तमान निर्णयलाई इतिहासको अर्को महत्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन्।
उनले अग्रगामी वैकल्पिक राजनीति पक्षधर सबैलाई यसलाई सकारात्मक रूपमा ग्रहण गर्न र नयाँ वैकल्पिक राजनीतिक वृहद ध्रुवीकरणमा लाग्न आग्रह गरेका छन्।












