काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेन–जि पुस्ताले आह्वान गरेको आन्दोलन र पछिल्ला राजनीतिक घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै धैर्य, संयमता र सामाजिक सद्भाव कायम गर्न सबैलाई आह्वान गरेका छन्।
उनले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै सरकारले उपचारसम्बन्धी गरेका निर्णयको प्रभावकारी कार्यान्वयन हुनु पर्ने माग पनि राखेका छन्।
पोखरेलले आन्दोलनका क्रममा भएको अत्यधिक बल प्रयोग, सार्वजनिक सम्पत्ति, ऐतिहासिक सम्पदा, राजनीतिक दलका कार्यालय र निजी सम्पत्तिमा गरिएको आगजनी र तोडफोड घटनाप्रति निन्दा गरेका छन्। यस्ता घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्नेमा उनले जोड दिएका छन्।
“जस्तोसुकै कठिन परिस्थिति भए पनि लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्य–मान्यता, सामाजिक न्याय र विधिको शासनप्रति अविचलित रहनु पर्छ,” पोखरेलले भने, “विगतबाट शिक्षा लिएर प्रतिकूलतालाई अनुकूल बनाउन सबै मिलेर अघि बढ्नु अहिलेको आवश्यकता हो।”
उनले पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम जनतालाई शान्ति, अमनचयन र रूपान्तरणकारी आन्दोलनलाई सही बाटोमा अघि बढाउन सक्रिय भूमिका खेल्न आह्वान गरेका छन्।
हार्दिक अनुरोध
जेन जी पुस्ताका युवाहरूको आह्वानमा भएको भ्रष्टाचार नियन्त्रण तथा सामाजिक सन्जालमाथिको प्रतिवन्ध हट्नुपर्ने लगायतका विषयमा केन्द्रीत आन्दोलन र देशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति सबैको ध्यान गम्भीर रूपमा आकर्षित भएको छ । आन्दोलनका क्रमा भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्घान्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु । घाइतेहरूको उपचारमा सरकारले हालै गरेको निर्णयको प्रभावकारी कार्यान्वयन होस् भन्ने माग पनि गर्दछु ।
आन्दोलनमा भएको अस्वभाविक र अत्यधिक बल प्रयोग र त्यसकाणले भएको जनधनको ठूलो क्षति , सार्वजनिक सम्पत्ति, ऐतिहासिक सम्पदा , राजनीतिक दलका कार्यालय र विभिन्न व्यक्तिका निजी निवास तथा निजी सम्पत्तिमा गरिएको आगजानी, तोडफोड र हिंसाका घटनाप्रति निन्दा र भर्त्सना नगरी रहन सकिन्न । यी घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानविन गरी दोषीमाथि कडा कानूनी कारवाही गरिनुपर्छ । साथै, भविष्यमा यस्ता दु:खद वघटना नदोहोरिने वातावरण सुनिश्चित गर्नु हामी सबैको कर्तव्य हो ।
यस विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन , समाजमा शान्ति, अमनचयन र सामाजिक वसद्भावका लागि सबैको पहल / प्रयत्न आवश्यक छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्य मान्यता , सामाजिक न्याय, विधिको शासन र रूपान्तरणकारी आन्दोलनप्रति अविचलित रहन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक , शुभेच्छुक तथा आम जनतामा हार्दिक आह्वान गर्दछु । विगतबाट शिक्षा लिदै प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउने दिशामा हामी सबै अघि बढ्नु अहिलेको आवश्यकता हो !












