ललितपुर । नेकपा एमालेको गोदावरीमा जारी विधान महाधिवेशनमा ७० वर्ष नाघेका नेताका लागि मानार्थ सदस्यता दिने प्रस्ताव पेश भएको छ।
महाधिवेशन प्रतिनिधि कमल पाठकले समूहगत छलफलमा यस्तो प्रस्ताव राख्दै भने, ‘७० वर्ष नाघेकालाई राज्यले सम्मान गर्छ। हामी पनि मानार्थ सदस्यता राखौँ। मर्ने बेलासम्म लेवी उठाउने कुरा गलत छ।’
एमालेमा हाल दुई प्रकारका पार्टी सदस्य र संगठित सदस्य प्रस्तावित छन् । दुवैका लागि पार्टीको नीति समर्थन गर्दै तोकिएको सदस्यता शुल्क तिर्नुपर्ने व्यवस्था छ। पाठकको प्रस्तावअनुसार, ७० वर्ष नाघेका नेताका लागि मानार्थ सदस्यता राख्ने र शुल्क नलिने व्यवस्था थपिनेछ।
त्यसैगरी, महाधिवेशनमा सबै तहको कमिटीमा निर्वाचित हुनुपर्ने ७० वर्षे उमेर हद हटाउने प्रस्ताव पनि अघि सारिएको छ। एमालेले हरेक कमिटीको सदस्य वा पदाधिकारी बन्ने उम्मेदवारलाई माथिल्लो कमिटीको स्कुल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी हुनु अनिवार्य हुने व्यवस्था प्रस्ताव गरेको छ।
शनिबार १० वटा समूहमा छलफलपछि समूहगत सुझावहरू आज प्रस्तुत गरिने छन्। त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन, र महासचिव शंकर पोखरेलले सांगठनिक प्रस्तावमा उठेका प्रश्नहरूको जवाफ दिनेछन्। संशोधनसहितका प्रस्ताव र प्रतिवेदनहरू पारित भएपछि आजै विधान महाधिवेशन समापन हुने कार्यक्रम छ।












