काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको दोस्रो दिन शनिबार तीन वटा प्रतिवेदन पेस हुँदैछन्। ती प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहलाई छलफलका लागि चार घण्टा समय तोकिएको छ। शनिबार निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पेस गरिने कार्यक्रम छ।
महाधिवेशनको पहिलो दिन शुक्रबार उद्घाटन सत्रसँगै चार प्रतिवेदन पेस भएका थिए। अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रतिवेदन, महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले प्रतिवेदन प्रस्तुत गरेका थिए।
स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको फरक मत भने पहिलो दिनको कार्यसूचीमा रहे पनि पेस हुन सकेको थिएन।
शनिबार प्रतिवेदन प्रस्तुत भएपछि प्रतिनिधिहरूले १० समूहमा विभाजन भएर छलफल गर्नेछन्। छलफलमा उठेका निष्कर्षहरू समूहगत रूपमा संकलन गरिनेछ।
महाधिवेशनको समसामयिक प्रस्ताव लेखनका लागि संयोजकको जिम्मेवारी स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई दिइएको छ।
महाधिवेशनमा देशभरका २,०२६ जना प्रतिनिधि सहभागी छन्। साथै आयोजकको हैसियतमा थप ३१५ जना रहेकाले सहभागिताको संख्या २,३४१ पुगेको छ।












