काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। नेकपा एमालेका महासचिव शंकर पोखरेलका अनुसार बैठक दिउँसो बजेका लागि बोलाइएको हो। बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने तीनवटा मुख्य प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ।
तीन मुख्य प्रतिवेदन
राजनीतिक प्रतिवेदन – अध्यक्ष केपी शर्मा ओली प्रस्तुत गर्ने
विधान संशोधन प्रस्ताव प्रतिवेदन – पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल प्रस्तुत गर्ने
साङ्गठनिक प्रतिवेदन – महासचिव शंकर पोखरेल प्रस्तुत गर्ने
बैठकमा यी तीनै प्रतिवेदनमाथि छलफल गरी पारित गरेपछि मात्रै विधान महाधिवेशनमा प्रस्तुत गरिनेछ। एमालेले आगामी भाद्र २०, २१ र २२ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्ने कार्यक्रम तय गरेको छ। महाधिवेशनको मूल नारा “निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य” रहेको छ।
यस दोस्रो विधान महाधिवेशनमा २०२६ जना प्रतिनिधि र ३१५ जना आयोजक गरी कुल २३४१ जना सहभागी हुने अपेक्षा गरिएको छ।
साथै, प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली चीन भ्रमणबाट बुधबार बेलुका फर्किएका छन्। बैठकमा उनले चीन भ्रमणबारे पनि उपस्थित सदस्यहरुलाई संक्षिप्त ब्रिफिङ दिने जनाइएको छ ।












