काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिबाट प्राप्त उपलब्धिहरूमाथि प्रहार हुन खोजिरहेको भन्दै पार्टी पंक्तिलाई सडक आन्दोलनको तयारी गर्न निर्देशन दिएका छन्।
अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनलाई परास्त गर्न नयाँ आन्दोलन आवश्यक भएको बताए।
उनले भने, “अहिले हाम्रो क्रान्तिबाट प्राप्त उपलब्धिहरूमाथि विभिन्न कोणबाट प्रहार हुन खोजिएको छ। क्रान्तिका उपलब्धि रक्षा गर्न र देशलाई समाजवादतिर डोर्याउन अब फेरि हिजो जनयुद्धमा जस्तै महिलाहरूको सक्रियता सदन, सरकार र सडकमा आवश्यक छ। समाजवाद र महिलामाथिको विभेद सदाका लागि अन्त्य गर्न आन्दोलनमा जानुपर्छ।”
प्रचण्डले वर्तमान संविधानमाथि पनि घात हुने जोखिम रहेको बताएका छन्। साथै, अस्थिरता, अराजकता र भ्रष्टाचार अहिले संस्थागत रूपमा फैलिरहेको टिप्पणी गरेका छन्।












