काठमाडौँ । मनाङ क्षेत्र नम्बर १(२) बाट हुने गण्डकी प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता प्रक्रिया आगामी भदौ १९ गतेदेखि सुरु हुने भएको छ। निर्वाचन आयोगले मंगलबार सूचना जारी गर्दै दर्ता प्रक्रिया भदौ २५ गतेसम्म खुला रहने जानकारी दिएको हो।
उक्त क्षेत्रबाट निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे) ज्यान मुद्दामा कारागार चलान भएपछि सो पद रिक्त भएको हो। संविधान र कानुन बमोजिम रिक्त पदमा उपनिर्वाचन हुने भएकाले आयोगले आवश्यक तयारी अघि बढाएको छ।
आयोगका अनुसार दल दर्ताका लागि निवेदनहरू आयोगको केन्द्रीय कार्यालय, कान्तिपथमा कार्यालय समयभित्र पेश गर्नुपर्नेछ। निवेदनमा दलको नाम, स्थापना मिति, कार्यालय ठेगाना, सम्पर्क विवरण, केन्द्रीय कार्यसमिति तथा प्रदेश–जिल्ला तहका पदाधिकारी विवरण, वार्षिक लेखा परीक्षण प्रतिवेदन, उम्मेदवार मनोनयनको औपचारिक पत्र, हस्ताक्षर नमूना, र संविधानको धारा अनुसारको प्रतिबद्धता पत्र संलग्न गर्नुपर्नेछ।
त्यस्तै, नयाँ गठन भएका वा अन्य दलसँग गाभिएका राजनीतिक दलले आफ्नो वार्षिक लेखा परीक्षण प्रतिवेदनमा अघिल्ला दलहरूको वित्तीय विवरणसमेत समावेश गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ।
मनाङ–१(२) मा हुने उपनिर्वाचनले प्रदेशको राजनीतिक समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।












