काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ सम्बन्धी समाचारहरू खण्डन गरेका छन्।
चिनियाँ विदेश मन्त्रालयले शनिबार सार्वजनिक गरेको रिपोर्टमा, प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको द्विपक्षीय भेटवार्तामा नेपालले GSI मा समर्थन दिएको उल्लेख गरिएको थियो। तर डा. खतिवडाले यसलाई असत्य भनेका छन्।
उनका अनुसार, नेपालको संविधान र असंलग्न परराष्ट्र नीतिअनुसार नेपाल कुनै पनि मुलुकको सुरक्षा रणनीतिको अंग बन्ने अवस्था छैन। प्रधानमन्त्री ओली चीन भ्रमणमा रहेका बेला भेटवार्ता शांघाइ सहयोग संगठन प्लस शिखर सम्मेलनको सन्दर्भमा मात्र भएको थियो।
डा. खतिवडाले भने,’दुई मुलुकबीच भेटवार्तामा मुख्य रूपमा बेल्ट एण्ड रोड इनिसियटिभ (BRI) र अन्य सहमति कार्यान्वयनका प्राथमिकताबारे छलफल भएको थियो। सामान्यत: यस्ता साइडलाइन वार्तामा कुनै आधिकारिक सहमति वा समझदारीमा हस्ताक्षर हुँदैन।’
उनले नेपालले GSI वा GCI मा समर्थन दिएको कुनै आधार छैन, र सञ्चारमाध्यममा आएको समाचार पूर्णतः गलत रहेको बताए ।












