काठमाडौँ । कांग्रेसविरुद्ध पार्टीको निर्णयात्मक शक्ति बनाउनका लागि कपा एमालेका महासचिव शंकर पोखरेलले वडा तहसम्म पार्टी कार्यालय स्थापना र सञ्चालन गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक “कम्युनिष्ट पार्टी निर्माणका आधार” को विमोचन गर्दै महासचिव पोखरेलले पार्टीलाई राष्ट्रिय स्तरमा निर्णायक शक्ति बनाउने उद्देश्य हासिल गर्न यस कदम आवश्यक रहेको बताए।
पार्टीको काम हाल पालिका तहसम्म मात्रै क्रियाशील भएको हुँदा त्यसले एमालेलाई राष्ट्रिय स्तरको शक्ति बनाउन पर्याप्त नभएको उनले उल्लेख गरे। त्यसैले वडालाई पार्टी कामको केन्द्रबिन्दु बनाएर सबै नेता–कार्यकर्ताले जनमत तयार गर्ने, पार्टी नीतिलाई राष्ट्रिय नीतिको रूपमा अघि बढाउने र मुलुकमा राजनीतिक अस्थिरता अन्त्य गर्ने दिशामा काम गर्नुपर्ने बताएका छन्।
महासचिव पोखरेलले एमालेले लिएको जबज नीतिलाई सामयिक परिस्थितिअनुसार कार्यान्वयन गर्दै अघि बढाउनुपर्नेमा पनि जोड दिएका छन्।












