काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । शुक्रबार मध्यान्ह बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो वरीयतामा रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षक बनाउने निर्णय गरेको हो ।
वर्तमान प्रहरी महानिरीक्षक दीपक थापा आगामी भदौ १८ गते अनिवार्य अवकाशमा जान लागेका छन् । त्यसपछि भदौ १९ गतेदेखि नवनियुक्त आईजीपी खापुङले औपचारिक रूपमा कार्यभार सम्हाल्नेछन् ।
यसअघि आईजीपी थापाले आफ्नो कार्यकाल लम्ब्याउने प्रयास गरे पनि सफल हुन सकेनन् । सरकारले भने प्रहरी नेतृत्वमा सहज संक्रमणको व्यवस्था गर्दै खापुङलाई नयाँ प्रहरी प्रमुख बनाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा प्रस्थान गर्न लागेका छन् । चीन भ्रमणअघि नै सरकारले खापुङलाई आईजीपीमा नियुक्त गरेको हो ।












