काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार मधेस प्रदेशका केही स्थान बाहेक बाँकी सबै प्रदेशमा पानी परिरहेको छ।
काठमाडौं उपत्यकामा १५ घण्टादेखि वर्षा
ढकालका अनुसार काठमाडौं उपत्यकामा बुधबार बेलुका ६ बजेदेखि लगातार वर्षा भइरहेको छ। “बीचमा करिब एक घण्टाका लागि वर्षा रोकिने समय आयो, तर त्यसभन्दा बाहेक निरन्तर पानी परिरहेको छ। कहिले सिमसिम, कहिले अलि ठूलै पानी परेको छ। हाम्रो कार्यालय रहेको विमानस्थल क्षेत्रमा त भारी वर्षा समेत भएको छ,” उनले भने।
उनका अनुसार आज काठमाडौं उपत्यकामा मौसम खुल्ने सम्भावना कम छ। अहिलेसम्म वर्षाका कारण विमानस्थलबाट हुने उडानमा समस्या भने देखिएको छैन। तर वर्षा बढ्दै गएमा दृश्यता कम हुन सक्ने चेतावनी पनि दिएका छन्।
मौसमविद् ढकालका अनुसार बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावाका कारण नेपालमा मनसुन सक्रिय भएको छ। “आज दिनभर र राति पनि वर्षा जारी रहनेछ। भोलि केही कम हुने सम्भावना छ,” उनले भने।
तर उनले स्पष्ट पारे कि भोलि वर्षा नहुने भन्ने होइन। “आजको जस्तो वर्षा भोलि नहुने मात्र हो, केही वर्षा भने हुन सक्छ,” ढकालले बताए।















