काठमाडौँ । धितोपत्र दोस्रो बजारमा आज उल्लेखनीय वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक ५३.०१ अंकले बढेर २८१९.१० विन्दुमा बन्द भएको छ। यो १.९१ प्रतिशतको वृद्धि हो।
यस दिन सेयर कारोबार रकम मंगलबारको तुलनामा साढे तीन अर्ब रुपैयाँले बढेको छ। बुधबार ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने मंगलबार ४ अर्ब १८ करोड ६३ लाख रुपैयाँको कारोबार मात्र भएको थियो।
कुल एक करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ। आजको कारोबारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बिमा कम्पनी र ग्रीन भेन्चर लिमिटेड अग्रस्थानमा रहेका छन्। हिमालयन रिइन्स्योरेन्सको मात्र ६५ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। नेपाल पुनर्बिमाको ५० करोड ५२ लाख र ग्रीन भेन्चरको ४६ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ।
आज २३२ कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको मूल्य घटेको छ। विकास हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ४७ रुपैयाँ अर्थात १० प्रतिशतले बढेको छ।
साथै, कारोबारमा आएका १३ वटै समूहगत परिसूचक वृद्धि भएका छन्। तीमध्ये विकास बैंक समूह ३.४० प्रतिशतले बढेर अग्रस्थानमा रहेको छ।












