काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको विश्वास पुनः बढ्दो क्रममा रहेको दाबी गरेका छन्।
कर्णाली प्रदेशको पूर्ण बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष दाहालले पछिल्ला विभिन्न निर्वाचन परिणामहरूले जनविश्वास बढ्दै गएको स्पष्ट भएको बताए। उनका अनुसार, कांग्रेस र एमाले मिल्दा समेत माओवादी केन्द्र निकट उम्मेदवारहरू विजयी हुनु विश्वास पुनः स्थापित भएको संकेत हो।
“स्थानीय तह, स्ववियु, पत्रकार महासंघदेखि नेपाल पर्वतारोहण संघको निर्वाचनसम्म माओवादी केन्द्र निकट उम्मेदवारहरूको जित जनताको बढ्दो आशा र भरोसाको प्रतीक हो,” दाहालले भने।
त्यसैगरी उनले पार्टीभित्र गुटबन्दी, अराजकता र अनुशासनहीनता हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे। स्थायी समितिले पार्टीलाई सुदृढ, अनुशासित र एकताबद्ध बनाउन सङ्कल्प गरिसकेको उल्लेख गर्दै उनले शिक्षा विधेयक लगायतका राष्ट्रिय मुद्दामा माओवादी केन्द्रको अडानले जनस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको दाबी गरे।












