काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उच्च अदालत पुगेका छन्। जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा छाड्न अस्वीकार गरेपछि लामिछाने उच्च अदालत गएका हुन्।
लामिछाने पत्नी निकिता पौडेलले उच्च अदालत बुटवलमा उक्त मुद्दाको पुनरावेदन गरेको बताएकी हुन्। ‘आज मैले उच्च अदालत, बुटवलको ढोका पनि ढक्ढक्याएँ। मेरो श्रीमान भन्नुहुन्छ, ‘यो देशमा शक्ति पृथकीकरण समाप्त भएको धेरै भइसक्यो, एउटै रावणका फरक टाउका गन्न छाडिदेउ।’ तर, श्रीमतीका रूपमा मेरो पनि जिद्दी छ, न्याय पाइयोस् कि नपाइयोस्, म संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढक्ढक्याउने छु,’ निकिताले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्।












