काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्क स्टिकर छपाइमा संलग्न भ्रष्टाचार मुद्दासम्बन्धी विशेष अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेको छ।
आयोगका अनुसार सुरक्षण मुद्रण केन्द्रमार्फत अन्तःशुल्क स्टिकर छपाइ कार्य गराउँदा संलग्न रहेका तत्कालीन सञ्चार तथा सूचना प्रविधि सचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। उनीहरूविरुद्ध करिब ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाइएको थियो।
विशेष अदालत, काठमाडौँले २०८१ मङ्सिर १३ गते सुनाएको फैसलामा केही प्रतिवादीलाई आंशिक दोषी ठहर गर्दै केहीलाई सफाइ दिएको थियो। उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियारले भदौ ८ गते आइतबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको हो।












