काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरू कामभन्दा बढी लोकसेवाको तयारीतर्फ ध्यान दिन थालेको बताएकी छिन्।
शुक्रबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले मन्त्रालयमा आएपछि आफूले देखेको अनुभव सुनाउँदै कर्मचारीहरूले हाजिर मात्र लगाएर आफ्नो वृत्तिविकासका नाममा पढाइ र रटानतर्फ समय खर्च गर्ने प्रवृत्ति बढेको उल्लेख गरिन्।
‘म पनि संघीय मामिला मन्त्रालयमा मन्त्री भएर आएर देखेँ, धेरैको सोचाइ भनेको हाजिर लगाउने अनि थप वृत्तिविकासका लागि समय खर्च गर्ने रहेछ,’ मन्त्री न्यौपानेले भनिन्, ‘यदि सबै तहमा खुला प्रतिस्पर्धाबाट मात्र कर्मचारी नियुक्त गर्ने हो भने त कार्यालयमा काम गर्ने भन्दा बढी लोकसेवाको तयारी गरेर बस्ने, पढ्ने, रट्ने प्रवृत्ति बलियो हुन्छ।’
उनले यस्तो अवस्थाले नियमित कार्य सम्पादनमा असर पार्ने भएकाले सबै पदमा खुला प्रतिस्पर्धाबाट मात्र नियुक्ति नगरी अन्य विधि पनि अपनाउनुपर्ने औंल्याइन्।












