काठमाडौं । भारत सरकारले नेपालका दुई जलविद्युत आयोजना मेगाघाट खोला (४८.५ मेगावाट) र करुवा सेती हाइड्रोपावर (३१.०४ मेगावाट) बाट उत्पादन हुने ८० मेगावाट विद्युत खरिद गर्ने सहमति प्रदान गरेको छ।
यससँगै भारततर्फ निर्यात हुने विद्युत क्षमता १०१०.९ मेगावाटबाट बढेर १०९०.९ मेगावाट पुगेको छ। साथै बंगलादेशतर्फ निर्यातका लागि अनुमतिप्राप्त ४० मेगावाटसहित नेपालले कुल ११३०.९ मेगावाट विद्युत निर्यात स्वीकृति पाएको छ।
भारत सरकारले पछिल्लोपटक साउन २६ गते २०० मेगावाट विद्युत निर्यातको अनुमति दिएको थियो। त्यसमाथि भदौ ५ गते थप ८० मेगावाट अनुमतिप्रदान गरिएको हो।
दुई पक्षबीचको द्विपक्षीय सम्झौताअन्तर्गत मध्यम अवधिका लागि प्राप्त यो अनुमति २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्म लागू हुने जनाइएको छ।












