काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाललाई बेवास्ता गरेर चीन र भारतले लिपुलेक हुँदै सिमापार व्यापार पुनः सुरु गर्ने सहमतिबाट उनीहरूको अतिक्रमणकारी रवैया उजागर भएको टिप्पणी गरेको छ।
‘नेपालको सार्वभौम र अखण्ड भूभागका बारेमा दुई देश बीच सिमापार व्यापार पुनः सुरु गर्ने सहमति गर्दा नेपाल र नेपाली जनतालाई सूचना समेत नहुनुले यी दुई देशको अहंकार, हस्तक्षेपकारी एवं अतिक्रमणकारी रवैया उजागर भएको छ,’ बिहीबार निकालिएको विज्ञप्तिमा भनिएको छ।
देशको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डतामाथिको आक्रमणको पार्टीले घोर निन्दा गर्ने भन्दै नेकपाले यस्तो सहमति खारेजीका लागि पहल गर्न समेत सरकारसँग आग्रह गरेकोक छ।
बिज्ञप्तिमा भनिएको छ,‘दुई देशका विदेश मन्त्रीहरु बीच गरिएको अन्यायपूर्ण र राष्ट्रघाति सहमतिलाई तदारुकताका साथ फिर्ता लिन चीन र भारत सरकारलाई हामी विशेष अपिल गर्दै सो सहमति खारेजीका निम्ति पहल लिन नेपाल सरकार संग जोडदार माग गर्दछौँ।’













