काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको समग्र विकासका लागि सबैले आफ्नो जिम्मेवारी र योगदान सुनिश्चित गर्नुपर्ने बताएका छन्।
सिस्नुपानी नेपालको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कर्णालीमा भएका विकास र प्रगतिका कामलाई पनि महत्त्व दिनुपर्नेमा जोड दिए। उनले भने, “कसैलाई सरापेर होइन, कर्मठ भएर लाग्दा मात्रै नेपाल समृद्ध बन्न सक्छ।”
प्रधानमन्त्री ओलीले कर्णालीमा भएका विकास परियोजनाको उदाहरण प्रस्तुत गर्दै भने, “हामीले विश्वविद्यालय, स्वास्थ्य प्रतिष्ठान, कर्णाली करिडोर, हुम्ला जोड्ने बेलिब्रिज, रंगशाला आदि निर्माण गरिसकेका छौं। अब कर्णालीको स्याउ बजारमा जान्छ र हुम्लामा पिच सडक पनि पुग्नेछ। मोटरबाटो चढेर रारा घुम्ने सपना यथार्थ बनेको छ।”
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा नेपाल विकासशील मुलुकको रूपमा स्तरोन्नति गर्ने तयारीमा रहेको स्मरण गराए। उनले सरकारले कर्णालीको विकासलाई उच्च प्राथमिकतामा राखेको विश्वास पनि दिलाए।
प्रधानमन्त्री ओलीले यार्सागुम्बा निर्यात लगायत प्राकृतिक स्रोतको सदुपयोगमा ध्यान दिने र कर्णालीमा लोकतान्त्रिक गणतन्त्र अन्तर्गत न्याय सुनिश्चित हुने उल्लेख गरे। कार्यक्रममा विशिष्ट व्यक्तिहरू र दर्शकहरूको सहभागिता रहेको थियो।












