काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलभित्र विकृति र विसंगति मौलाउँदै गएको आरोप लगाएकी छन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलहरूले देखिएका विकृति समाधान गर्न नसकेको बताइन्।
भण्डारीले सुशासन प्रवर्द्धन गर्न सरकारले भूमिका निर्वाह गर्न नसकेको उल्लेख गर्दै अहिलेको संसदीय प्रणाली कमजोर बन्दै गएको प्रष्ट पारिन्। उनले भनिन्, “राजनीतिक दल एउटा प्रणालीमा जसरी जानुपर्ने हो, त्यो जान सकेको छैन। राज्यका संयन्त्रहरु पनि जुन ढंगले सञ्चालन हुनुपर्ने हो, त्यो हुन सकेको छैन। संसद् नै अहिले निरीह थलो बनेको छ।”
पूर्वराष्ट्रपतिले ठूला दलहरूले संविधान संशोधनको सहमति गरे पनि संविधानमा के अभाव रह्यो र के आवश्यकता छ भन्नेबारे गम्भीर छलफल हुन नसकेको टिप्पणी गरिन्। उनले भनिन्, “कुनै व्यक्तिमाथि आरोप लाग्दैमा तत्काल निलम्बनमा पार्ने व्यवस्था लोकतान्त्रिक अभ्यास होइन। आरोप पुष्टि नभएसम्म निलम्बन गर्नु न्यायसंगत हुँदैन।”
साथै, शिक्षा क्षेत्रमा देखिएको समस्या नेपालका लागि ठूलो चुनौती बनेको भन्दै उनले समयानुकूल कानुन निर्माण र प्रभावकारी कार्यान्वयनमा राज्य गम्भीर हुनुपर्ने आवश्यकता औँल्याइन्।












