काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले सामाजिक सुरक्षा भत्ता गरिबी रेखा मुनी रहेका व्यक्तिलाई मात्र प्रदान गर्नुपर्ने प्रस्ताव सार्वजनिक गरेका छन्।
बुधबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले हाल लागू विधि अनुसार सबैलाई भत्ता दिनु नेपालको आर्थिक अवस्थालाई धान्न नसक्ने बताए। उनले उच्च पदस्थ व्यक्ति र उनका परिवारले भत्ता पाउनुको औचित्यसमेत प्रश्न उठाए।
मन्त्री साहले भने, “नेपालमा २० प्रतिशत मानिस मात्र गरिबी रेखामुनि छन्। सामाजिक सुरक्षा भत्ता पहिले तिनीहरूलाई दिनुपर्छ। विनोद चौधरीको आमाबुबालाई, मेरो आमा-बुबा वा श्रीमतीलाई किन भत्ता ?”
उनले भारतको उदाहरण दिँदै भने, “विश्वको तेस्रो ठुलो अर्थतन्त्र भारतले मासिक पाँच सय रुपैयाँ मात्र सामाजिक भत्ता दिने गरेको छ। तर नेपालमा राजनीतिक दलहरूले आफ्नो फाइदाका लागि भत्ता बढाउने प्रतिस्पर्धा गर्दै आएका छन्।”
सामाजिक सुरक्षा भत्ता हालको ४ हजार रुपैयाँको सट्टा ६ हजार रुपैयाँ दिन सकिने भए पनि २० प्रतिशत गरिबी रेखामुनिलाई मात्र उपलब्ध गराउनुपर्ने उनले सुझाव दिए।
हाल नेपाल सरकारले ज्येष्ठ नागरिक, असहाय एकल महिला, अपाङ्गता, लोपोन्मुख जाति र बाल पोषण भत्ता लगायतका शीर्षकमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ।












