काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आज प्रतिनिधिसभामा तय भएको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था तथा परामर्श बैठकमा प्रधानमन्त्री अस्वस्थ भएकाले प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन्। बैठक आज दिउँसो १ बजे बस्ने तय भएको थियो।
आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। साथै मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि रहनेछ।
यता लामो समयदेखि भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपाले संसद अवरुद्ध गर्दै आएका छन्। सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने गृहकार्यमा जुटेपछि रास्वपाले संसदमा नयाँ रणनीति तय गर्ने तयारी समेत गरेको छ।












