विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको हितमा लाग्ने घोषणा गरेकी छिन्। एमालेको सक्रिय राजनीतिमा फर्किने निर्णयपछि पहिलोपटक कोशी प्रदेश पुगेकी उनले आफू एमालेकै भएकाले गुटभन्दा बाहिर रहेर पार्टीका लागि काम गर्ने बताइन्।
उद्घोष दैनिकको वार्षिकोत्सवमा सहभागी हुन विराटनगर पुगेकी भण्डारीले आज पत्रकारहरूसँग कुरा गर्दै भनिन्, “म एमालेमै हुँ, मैले कहिल्यै गुट चलाएको छैन, मलाई गुट चलाउन आउँदैन।”
उनले एमालेबाटै राष्ट्रपति भएकाले कार्यकाल सकिएपछि पार्टीमा फर्किएको दाबी गर्दै अबको भूमिकासमेत एमालेकै हितमा रहने स्पष्ट पारिन्।
पार्टीले एक चरणमा आफ्नो सदस्यता खारेज गरेको विषयमा पनि उनले प्रतिक्रिया दिँदै भनिन्, “म एमालेबाटै राष्ट्रपति भएकी हुँ, फर्किएपछि सदस्यता नवीकरण गरिसकेको छु। अहिले सदस्यताको विषय उठाउनु पर्ने अवस्था छैन।”
उनको भनाइअनुसार, सदस्यता वा गुटको विवादभन्दा पनि एमालेलाई सुदृढ बनाउन आफू लाग्ने छिन्।












