काठमाडौं । नेपाल टेलिकम लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी सामान्य मात्रामा घटे पनि खुद नाफा भने उल्लेख्य रूपमा घटेको छ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३४ अर्ब ५६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा यो वर्ष ३४ अर्ब ५३ करोड रुपैयाँमा झरेको छ। त्यस्तै, वित्तीय आम्दानी पनि ६ अर्ब ७८ करोड रुपैयाँबाट घटेर ३ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ। जसका कारण कुल आम्दानी ४२ अर्ब ११ करोड रुपैयाँबाट घटेर ३८ अर्ब ७३ करोड रुपैयाँमा पुगेको छ।
आम्दानी सामान्य मात्र घटेपनि कर खर्च बढेकाले कम्पनीको नाफामा ठूलो असर परेको छ। चालु कर खर्च ११ करोड रुपैयाँबाट बढेर ४ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ पुगेपछि कम्पनीको खुद नाफा ६ अर्ब २३ करोड ५५ लाख रुपैयाँबाट घटेर २ अर्ब ६६ करोड ८१ लाख रुपैयाँमा झरेको हो।
नाफा घटेसँगै प्रतिशेयर आम्दानी (EPS) पनि ३४ रुपैयाँ ६४ पैसाबाट घटेर १४ रुपैयाँ ८२ पैसामा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ भने ४९५ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E ratio) ५९.१८ गुणा रहेको छ।
१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७१ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ।












