काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकाको भिसा नियम उल्लंघन गर्नेहरूप्रति कडा चेतावनी दिएको छ। सामाजिक सञ्जालमार्फत दूतावासले भिसाको सर्त तोड्ने व्यक्तिहरूलाई आजीवन अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइने सम्भावना रहेको स्पष्ट पारेको हो।
दूतावासले फेसबुकमार्फत भनेको छ, “यदि तपाईं आफ्नो भिसामा दिइएको अनुमति अवधिभन्दा बढी समय अमेरिकामा बस्नुहुन्छ भने तपाईंलाई स्थायी रूपमा अमेरिका प्रवेशमा रोक लगाइने सम्भावना रहन्छ।” साथै, भिसा उल्लंघनका घटनामा ‘इमानदार गल्ती’ भन्ने बहाना स्वीकार्य नहुने पनि चेतावनीमा उल्लेख छ।
सन् २०१७ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि आप्रवासी नियममा थप कडाइ गरिएको थियो। भिसा वा आप्रवासन सर्त उल्लंघन गर्नेहरूलाई अमेरिका सरकारले आफ्नै मुलुक फिर्ता गर्ने नीति पनि सक्रिय रूपमा लागू गर्दै आएको छ।












