काठमाडौं । यस वर्ष देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। यो गत वर्षको सोही अवधिभन्दा ८ प्रतिशतले बढी हो।
मन्त्रालयका अनुसार करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। मुलुकभर करिब १४ लाख हेक्टर जमीन खेतीयोग्य छ। प्रदेशवार हेर्दा सुदूरपश्चिममा सबैभन्दा बढी ९९.७ प्रतिशत, कर्णाली र लुम्बिनीमा ९८ प्रतिशत रोपाइँ भएको छ।
मधेश प्रदेशमा भने यो वर्ष सबैभन्दा कम ७६ प्रतिशत मात्र रोपाइँ भएको छ, जहाँ गत वर्ष यस्तै अवधिमा ९७ प्रतिशत रोपाइँ भएको थियो। मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार मधेशमा मनसुन ढिलो सक्रिय हुनु र वर्षा कम हुनु मुख्य कारण हो।
जोशीका अनुसार धान उत्पादनका लागि तराई क्षेत्र सबैभन्दा उपयुक्त मानिन्छ, जसबाट कुल उत्पादनको करिब ७० प्रतिशत योगदान हुन्छ। पहाडी क्षेत्रमा भने ३० प्रतिशत धान उत्पादन हुने गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष ६० लाख मेट्रिक टन उत्पादनको अनुमान गरिएको छ, जसबाट करिब ३५ लाख मेट्रिक टन खानयोग्य चामल उत्पादन हुने अपेक्षा छ।












