काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थापना गरेको ‘गुनासो व्यवस्थापन केन्द्र’ सञ्चालनमा आएको एक महिनाभित्र मन्त्रालयसँग सम्बन्धित १०० भन्दा बढी गुनासोहरू दर्ता भएका छन्।
मन्त्रालयका अनुसार तीमध्ये केही गुनासोहरू तत्काल समाधान भइसकेका छन् भने बाँकी गुनासोहरू क्रमशः सम्बोधन हुँदैछन्। सेवाग्राहीहरूले गुनासो दर्ताका लागि मन्त्रालयको तोकिएको इमेल ठेगाना र फोन नम्बरमार्फत सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।
‘गुनासो व्यवस्थापन केन्द्र’ साउन ८ गतेदेखि सक्रिय रूपमा काम गरिरहेको छ। मन्त्री भगवती न्यौपानेको निर्देशनमा सुरु गरिएको यस केन्द्रले मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित गुनासो संकलन, वर्गीकरण र समाधान गर्ने जिम्मेवारी पाएको छ।
केन्द्रको नेतृत्व उपसचिव भूपेन्द्र सापकोटाले गरेका छन् भने शाखा अधिकृत लोकबहादुर लामा र नायव सुब्बा नवराज पराजुली पनि यस कार्यमा संलग्न छन्।
मन्त्रालयले सामान्य सूचना वा प्रक्रिया सम्बन्धी गुनासोहरूलाई तत्काल समाधान गरिरहेको छ भने जटिल वा नीतिगत विषयमा सम्बन्धित शाखा, महाशाखा र उच्च व्यवस्थापन तहसँग समन्वय गरी एक महिनाभित्र समाधान गर्ने व्यवस्था मिलाएको छ।












