काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षदेखि तराईमा आकासे वर्षामात्र निर्भर रहने अवस्था अन्त्य गरी स्थायी सिँचाइको समाधान ल्याउने सरकारको संकल्प रहेको बताएका छन्।
साउन २३ गतेसम्म मधेश प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत क्षेत्रमा धान रोपाइँ भइसकेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले यस वर्षको खडेरीले तराईमा गम्भीर समस्या निम्त्याएको स्मरण गरे। उनका अनुसार धेरै ठाउँमा पानीको अभावले रोपाइँ गर्न नसक्ने अवस्था आयो भने रोपिएको धान पनि सुक्ने अवस्थामा पुगेको थियो।
ओलीले भने, “किसानका पीर, पसिना र सपना माटोमै सुक्न लागेका बेला सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहत र सहयोगको विशेष निर्णय गरेको थियो। तत्कालका लागि ५०० वटा डीपबोरिङ जडानको काम सुरु भएको छ र दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन डाइभर्सनको काम अघि बढाइरहेका छौं।”
पछिल्ला दिनमा वर्षाले अवस्था सुधार गर्न थालेको बताउँदै उनले सम्पूर्ण खेतबारीमा चाँडै हरियाली लहराउने आशा व्यक्त गरे। प्रधानमन्त्री ओलीका अनुसार आगामी वर्षदेखि सिँचाइको स्थायी समाधानले किसानको मुस्कान, जमीनमा हरियाली र खाद्यान्न सुरक्षाको लक्ष्य पुरा गर्नेछ।












