काठमाडौं । सुदूरपश्चिम इञ्चार्ज तथा नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन्। महेन्द्रनगरमा आयोजित कार्यक्रममा भट्टले भने, “एमालेभित्र केपी शर्मा ओलीको विकल्प नै छैन।”
उनले पार्टीको स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटीले ओलीलाई नै प्रमुख नेतृत्वको निर्णय गरिसकेको बताउँदै दक्षिणपन्थी अवसरवादमाथि पार्टी भित्र कडा प्रहार भएको बताए।
‘एमालेभित्र विद्या भण्डारीलाई सम्मानित भएर बस्न निर्णय भयो। तर, त्यसलाई केहीले नराम्रो अर्थ लगाए। त्यो दक्षिणपन्थीमाथि गरिएको ठूलो प्रहार थियो,’ उनले स्पष्ट पारे।
साथै, भट्टले नेपालमा दुई तिहाइको सरकार बनाउँदै आएको एमालेलाई तीन दलमा विभाजित गर्न दक्षिणपन्थीको हात रहेको आरोप समेत लगाए। पार्टी अध्यक्ष ओलीको दृष्टिकोण बुझ्न अझै चुनौती भएको भट्टले बताए। उनले भने, ‘उहाँका निर्णयहरू दूरगामी छन्। उहाँको दृष्टि महाकालीदेखि मेचीसम्म फैलिएको छ, तर मेरो दृष्टि चितवनसम्म सीमित छ।’
यसरी भट्टले एमालेको नेतृत्वमा ओलीको महत्वपूर्ण स्थान रहेको पुनः पुष्टि गरेका छन् र पार्टीभित्र ओलीविरुद्धको कुनै विकल्प नरहेको जोड दिएका छन्।












