काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले मन्त्रालयभित्र व्यापक बेथिति रहेको खुलासा गरेकी छन्। बुधबार प्रेस चौतारी नेपालद्वारा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरुवा प्रणालीमा गम्भीर समस्या रहेको बताइन्।
“छोटो समयमै नेपालको सरुवा प्रणालीमा बेथिति रहेको बुझें,” मन्त्री न्यौपानेले भनिन्, “एक–एक महिनामै सरुवा गर्ने र गरिदिनु भन्दै नेताकोमा धाउने, सिनियर कर्मचारीकोमा धाउने प्रचलन रहेछ। यस्तो बेथिति अन्त्य गर्न कानुनअनुसारको विधि र प्रक्रिया अवलम्बन गर्नु आवश्यक छ भन्ने लागेको छ।”
उनले सेवाग्राही र कर्मचारी दुवैमा पैसाबिना काम नहुने सोच मौलाएको भन्दै त्यसको अन्त्य गर्ने प्रतिबद्धता जनाइन्। “सेवाग्राहीमा पैसाबिना काम हुँदैन भन्ने सोच छ भने कर्मचारीमा पैसा नभई सरुवा हुँदैन भन्ने गलत धारणाले प्रश्रय पाइरहेको छ,” मन्त्री न्यौपानेको भनाइ थियो।
आफ्नो नाम प्रयोग गरी कसैले पैसा मागेमा तत्काल जानकारी गराउन आग्रह गर्दै उनले भनिन्, “म लोभी छु, कुनै कामको बहानामा कसैले आर्थिक प्रलोभनमा पार्ने प्रयास गर्छ भने तुरुन्त जानकारी दिनुहोला।”
उनको भनाइले प्रशासन सुधारतर्फ गम्भीर प्रतिबद्धता झल्काएको विश्लेषण गरिएको छ। अब मन्त्रालयले सरुवा प्रणालीलाई व्यवस्थित गर्न कानुनी र संरचनागत सुधारको तयारी गरिरहेको जानकारी पनि दिइएको छ।












