काठमाडौं । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले पार्टी फुट्ने हल्लालाई खारेज गरेका छन्। मंगलबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारे।
पत्रकार सम्मेलनमा बोल्दै बास्तोलाले पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो बैठकका निर्णयहरू सार्वजनिक गर्दै भ्रष्टाचार र कुशासनविरुद्ध संघर्षलाई तीव्र बनाइने जानकारी दिएका हुन्।
उनले संसदमुखी दलहरू सत्तारूढ स्वार्थमा डुबेको आरोप लगाउँदै भने, ‘संसदवादी दलहरूको सत्ता र स्वार्थ मोहले राष्ट्रिय स्वाधीनतामै खतरा उत्पन्न भएको छ। त्यसैले बैठकले तेस्रो जनआन्दोलनको तयारी गर्ने निर्णय गरेको हो।’
बास्तोलाले पार्टी संगठनलाई लेनिनद्वारा प्रतिपादित जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार चलाउने र नेतृत्व मूल्यांकन प्रणालीलाई संस्थागत गर्ने नीतिगत निर्णय भएको जानकारी दिए।
उनले अमेरिका लगायत साम्राज्यवादी शक्तिहरूले विश्वभर युद्ध र हिंसा थोपरेको आरोप लगाउँदै भने, ‘यो विश्वलाई विस्फोटको संघारमा पुर्याउने खतरनाक खेल हो। त्यसविरुद्ध उत्पीडित जनता र राष्ट्रहरूले प्रतिवाद गर्नुपर्छ।’












