काठमाडौं । रिभिआई इभेन्टस आइएनसी र छेवाङ प्रोजेक्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत ‘सपना’ सार्वजनिक भएको छ। गायक कमल खत्री र सुमन गुरुङको आवाजमा रहेको यो गीतको म्युजिक भिडियो अमेरिकाका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको हो।
भिडियोमा महानायक राजेश हमालको दमदार अभिनय देख्न पाइन्छ भने नागिन केसी पन्तले पनि प्रभावशाली अभिनय प्रस्तुत गरेकी छन्। उनीहरूको अभिनयले गीतको भावनात्मक पक्षलाई अझ जीवन्त बनाएको छ।
गीतमा संगीत दिलिप समनले तयार पारेका हुन् भने भिडियोको निर्देशन सुरज सिंह ठकुरीले गरेका छन्। निर्देशन, अभिनय र छायांकनको समिश्रणले यो म्युजिक भिडियो दर्शकमाझ आकर्षणको विषय बनेको छ। गीत सार्वजनिक भएसँगै दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।












