विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबै दलका नेतासँग संवाद र समन्वय गरेर देशको समस्याको समाधानतर्फ मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्।
नेपाली कांग्रेस विराटनगर–४ वडा समितिद्वारा आयोजित क्रियाशील ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले देउवालाई सबै नेताको अभिभावकको रूपमा प्रस्तुत हुन आग्रह गरे। “नेपाली राजनीतिमा देउवाजत्तिको अनुभवी र वरिष्ठ नेता अहिले कोही छैन,” उनले भने, “उहाँले दलहरूबीच संवादको पुल बन्नुपर्छ।”
लोकतन्त्रको स्थायित्वका लागि कांग्रेस बलियो हुनुपर्नेमा जोड दिंदै कोइरालाले भने, “लोकतन्त्रको पर्याय कांग्रेस हो, कांग्रेस कमजोर भयो भने लोकतन्त्र मात्र होइन, देश नै कमजोर हुन्छ।” त्यसैले युवाहरूलाई पार्टीप्रति आकर्षित गर्दै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनु आवश्यक रहेको उनको भनाइ थियो।
उनले पछिल्ला निर्वाचनहरूमा कांग्रेसभित्रकै गुटबन्दी, असहयोग र व्यक्तिगत अहम्को कारण पार्टीले हार व्यहोर्नुपरेको बताए। “जीवन्त र लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो,” उनले भने, “तर प्रतिस्पर्धा अर्को पार्टीसँग हो, आफ्नै पार्टीलाई हराउने प्रवृत्तिले कांग्रेसलाई कमजोर बनाएको छ।”
कोइरालाले कांग्रेसको संगठन बलियो भए पनि मत नझर्ने प्रवृत्ति चिन्ताजनक भएको उल्लेख गरे। “जिल्ला जाँदा कांग्रेसकै भिड देखिन्छ, तर चुनावमा हारिन्छ,” उनले भने, “मुख्य कारण कांग्रेसकै कार्यकर्ताले भोट नहाल्नु हो।”
देउवालाई सत्ता गठबन्धन बाहेकका दलहरूसँग पनि संवाद गर्न, सहमतिको वातावरण बनाउन र नेताहरूसँग घरमै चिया खुवाएर देशको विकासबारे छलफल गर्नुपर्ने सुझावसमेत कोइरालाले दिए। “नेता भएपछि सबैसित भेट्नुपर्छ, संवाद गर्नुपर्छ,” उनले भने।
कार्यक्रममा पूर्व राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी, सहमहामन्त्री डा. प्रमिला गच्छदार, पूर्व मुख्यमन्त्री केदार कार्की, मोरङ कांग्रेसका सहसचिव सञ्जय मण्डल, महिला संघकी केन्द्रीय सदस्य डा. सीता घिमिरेलगायतले पनि मन्तव्य दिएका थिए।
नेताहरूले कांग्रेसले अब आर्थिक रूपान्तरणको नेतृत्व लिनुपर्नेमा जोड दिए।
सो अवसरमा ७२ वर्ष उमेर नाघेका १० जना ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गरिएको थियो।












