काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले विधानविपरीत गरिएको पार्टीको राष्ट्रिय भेला अस्वीकार्य रहेको स्पष्ट पारेकी छन्। बिहीबार सिंहदरबारस्थित कृषि समितिको बैठकमा सहभागी भई बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै उनले भेला बोलाउने अधिकार पार्टी अध्यक्षसँग मात्र रहेको बताइन्।
“पार्टीको विधानअनुसार म अध्यक्ष हुँ र मैले कुनै बैठक वा भेला आह्वान गरेकी छैन,” श्रेष्ठले भनिन्, “विधानविपरीत गरिएको भेलाको निर्णय मान्य हुने प्रश्नै उठ्दैन।”
उनले आफू निरन्तर काममा संलग्न रहेको र पार्टीभित्रको विवादबारे आफूलाई जानकारी नरहेको जिकिर गरिन्। साथै, पार्टीको नेतृत्व अझै आफ्नो हातमा रहेको पनि उनको दाबी छ।
पार्टीभित्र पछिल्लो समय देखिएको अन्तरविरोध र शक्ति संघर्षको पृष्ठभूमिमा अध्यक्ष श्रेष्ठको यो भनाइले नागरिक उन्मुक्ति पार्टीको आन्तरिक राजनीति थप चुलिन सक्ने संकेत देखिएको छ।












