काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको पछिल्लो निर्णयप्रति असहमति जनाएका छन्। बुधबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय भेलामा सहभागी हुँदै उनले श्रेष्ठद्वारा कार्यवाहक अध्यक्ष तोकिएको निर्णय पार्टीको विधानविपरीत रहेको टिप्पणी गरेका हुन्।
चौधरीले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णयमा आफू असन्तुष्ट रहेको बताए। “यस्तो संवेदनशील निर्णय गर्दा केन्द्रीय समिति बोलाएर निर्णय गर्नु उपयुक्त हुने थियो,” उनले भने, “केन्द्रीय तहमा छलफल नगरीकन गरिएको एकल निर्णयले धेरै कार्यकर्ताको चित्त दुखेको छ।”
उनले पार्टीभित्र देखिएको समस्याको कारण के हो भन्ने कुरा कार्यकर्तालाई प्रष्ट भएको दाबीसमेत गरे। अध्यक्ष श्रेष्ठले भने विधानमा रहेको व्यवस्थाअनुसार नै कार्यवाहक अध्यक्ष तोकिएको स्पष्ट पारेकी छन्।
यो निर्णयसँगै पार्टीभित्र आन्तरिक मतभेद सतहमा देखिएको छ। चौधरीले पार्टीको एकता जोगाउन संयम र संवाद आवश्यक रहेकोसमेत बताएका छन्।












