काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपतिमा उम्मेदवारी नदिन सुझाव दिएको खुलासा गरेका छन्। मंगलवार गैंडाकोटमा आयोजित जनप्रगतिशील विचार समूह (जिफन्ट) को १२औँ प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै पोखरेलले उक्त कुरा बताएका हुन्।
उनले भने, “विद्या भण्डारीको निवासमै गएर मैले राष्ट्रपतिको इच्छा नगर्नुहोस् भनेको थिएँ। तर पार्टीले निर्णय गरेपछि सबैले सर्वसम्मत रूपमा राष्ट्रपति बनायौं।” पोखरेलका अनुसार पार्टीको निर्णयपछि नै विद्या भण्डारी दुई कार्यकालसम्म राष्ट्रपति बनेकी हुन्।
पूर्वराष्ट्रपति भण्डारीको पछिल्लो गतिविधिप्रति संकेत गर्दै उनले धैर्यताको अभाव देखिएको टिप्पणी गरे। “दुई कार्यकाल राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि अब उहाँ राजनीतिमा फर्कनुहुन्छ भन्ने लागेकै थिएन,” पोखरेलले भने, “तर, उहाँमा त्यो धैर्यता देखिएन।”












