काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पा नजिकैको भण्डास बिप्पर कटेरी भन्ने स्थानबाट एकै परिवारका १६ जना सदस्य हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ।
सो क्षेत्रमा बसोबास गर्दै आएकी उर्मिला हायुको परिवार सोमबार बिहानदेखि सम्पर्कविहीन भएपछि स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जानकारी गराएका थिए।
प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले तत्काल प्रहरी टोली घटनास्थलमा पठाएर अनुसन्धान थालेको हो। जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार प्रहरी टोली हायुको घर पुग्दा घरमा सामान्य क्षति देखिएको थियो भने उनीहरूले पालेका कुखुरा, बाख्रा र भैंसीहरू अलपत्र अवस्थामा फेला परेका छन्।
प्रहरीले स्थानीय जनप्रतिनिधि र गाउँलेहरूसँग समन्वय गरी परिवारका सदस्यहरूको खोजी कार्य अघि बढाएको छ। हराएका व्यक्तिहरूको अवस्था र सम्भावित कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सिन्धुलीको ग्रामीण बस्तीबाट यसरी एकैपटक ठूलो संख्यामा मानिस बेपत्ता भएको घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ।












