रसुवा । रसुवाको गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा आइतबार बेपत्ता भएका दुई युवाको शव सोमबार बिहान फेला परेको छ। नेपाली सेनाको खोजी टोलीले उनीहरूको शव तालबाट निकालेको हो।
मृतकहरूमा मोरङको विराटनगरका २८ वर्षीय सुजन ढकाल र मोरङकै बेलवारीका मनोज न्यौपाने रहेका छन्। उनीहरू गहिरो भागमा स्नान गर्न तालमा पसेका कारण डुबेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
बेपत्ताको खोजीका लागि आइतबार नै नेपाली सेनाको श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवान गोसाइँकुण्ड पुगेका थिए। सेनाको टोलीले स्थानीय स्रोत र साधनको प्रयोग गरी तालमा खोजी अभियान सञ्चालन गरेको थियो।
शवहरू कुण्डबाट निकालिएर नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने तयारी भइरहेको नेपाली सेनाले जनाएको छ।
गोसाइँकुण्ड ताल रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ मा समुद्री सतहदेखि ४,३८० मिटरको उचाइमा अवस्थित पवित्र धार्मिकस्थल हो। चौथाइ माइल फराकिलो र नीलो पानीले भरिएको यो ताल करिब १,०३० हेक्टर क्षेत्रफलमा फैलिएको छ।












