काठमाडौं । न्याय सेवा आयोगले दुई जना सहसचिवलाई सचिवमा बढुवा गर्ने सिफारिस गरेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सोमबार बसेको आयोगको बैठकले यो सिफारिस गरेको हो।
बैठकले निर्मला अधिकारी भट्टराईलाई सचिवमा बढुवा गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गर्न सिफारिस गरेको छ। उनी हालसम्म सोही आयोगमा कायममुकायम सचिवको रूपमा कार्यरत थिइन्।
त्यस्तै, सहसचिव इन्दिरा दाहाल भट्टराईलाई पनि सचिवमा बढुवा गरी कानुन आयोगमा पदस्थापन गर्न सिफारिस गरिएको छ।
यसैगरी, आयोगले सूर्यराज दाहाललाई नायब महान्यायाधिवक्तामा बढुवा गर्ने सिफारिस गरेको छ। उनी हाल कामु नायब महान्यायाधिवक्ताको रूपमा कार्यरत छन्। बढुवा भएपछि उनलाई बेपत्ता व्यक्तिको छानबिन आयोगको सचिवमा पदस्थापन गरिनेछ।
बेपत्ता आयोगका वर्तमान सचिव खेमराज ज्ञवालीलाई भने महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको छ। ज्ञवाली नायब महान्यायाधिवक्ताका रूपमा कार्यरत छन्।
साथै, बैठकले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल र रजिस्ट्रारमा मानबहादुर कार्कीलाई बढुवा गर्न सिफारिस गरेको छ।
अब मन्त्रिपरिषद्ले औपचारिक निर्णय गरेपछि बढुवा भएका सबै व्यक्तिहरूको पदस्थापन कार्यान्वयनमा आउनेछ।
८४ उपसचिवको सरुवा
न्याय समूहका ८४ जना उपसचिवको सरुवा गरिएको छ। प्रधानन्यायाधिश प्रकाशमान सिंह राउतको अध्यक्षतामा सोमबार बिहान बसेको न्याय सेवा आयोगको बैठकले सरुवा गर्ने निर्णय गरेको हो।
ऋण असुली न्यायाधिकरणका स्रेस्तेदार देवेन्द्र ढकाल सर्वोच्च अदालतको उपरजिस्ट्रारमा सरुवा भएका छन्। धादिङ जिल्ला अदालतका स्रेस्तेदार माधव भण्डारी सर्वोच्च अदालत, चितवन जिल्ला अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्य, नवलपुर जिल्ला अदालतका गम्भीर घिमिरे काभ्रेपलान्चोक जिल्ला अदालतका कर्णबहादुर राई पनि सर्वोच्च अदालतमा सरुवा भएका छन्।












