काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) देशका विभिन्न स्थानहरूमा साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा प्रमुख ठूला नदीहरू कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काईको बहाव हाल सतर्कता तहभन्दा तल रहे पनि दिनभरमा ती नदीहरूको बहाव बढ्ने अनुमान गरिएको छ।
उल्लेख्य बहाव र मध्यम जोखिम भएका जिल्ला
बाढी पूर्वानुमान महाशाखाले रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट लगायत आसपासका क्षेत्रमा बहने साना नदीहरूमा बाढीको बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ।
यस्तै, सोलुखुम्बु, रसुवा, धादिङ, काभ्रे, मकवानपुर, कास्की, गोरखा, लमजुङ, बागलुङ, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, रोल्पा, सुर्खेत, दैलेख, कालिकोट, बझाङ, डडेलधुरा, डोटी लगायतका जिल्लाहरूमा पनि साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाको भनाइ छ।
२३ जिल्ला एल्लो अलर्टमा
महाशाखाले जोखिमयुक्त भनिएका २३ जिल्लालाई पहेँलो रङको सतर्कता तह (Yellow Alert) मा राखेको छ। यस क्षेत्रका नदी/खोला किनारमा बसोबास गर्ने स्थानीयवासी, नदी पार गर्ने यात्री तथा जलाधार क्षेत्रमा क्रियाशील हुने सबैलाई सावधानी अपनाउन आग्रह गरिएको छ।














