तनहुँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीयता सुदृढ र प्रभावकारी बनाउन निजामती कर्मचारीहरूको भूमिका निर्णायक हुने बताएकी छन्। तनहुँको देवघाट गाउँपालिकाले आज आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरिन्।
मन्त्री न्यौपानेले संघीय निजामती ऐन चालु संसद अधिवेशनमै पारित हुने विश्वास व्यक्त गर्दै ऐनले कर्मचारी व्यवस्थापनमा देखिएका धेरै समस्या समाधान गर्ने स्पष्ट पारिन्। “निजामती ऐन आइसकेपछि धेरै समस्या समाधान हुनेछन्। त्यसलाई छिटो जारी गर्नुपर्छ भनेर सरकार त्यसैअनुसार अघि बढिरहेको छ,” मन्त्री न्यौपानेले भनिन्।
उनका अनुसार कर्मचारी सरुवासम्बन्धी मापदण्ड निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने गुनासो सुनुवाइ संयन्त्र पनि मन्त्रालयले स्थापना गरिसकेको छ। उनले मन्त्रालय अन्तर्गतका छ वटा महाशाखा र १९ वटा शाखामा देखिएका समस्याबारे जानकारी लिइसकेको र क्रमशः समाधान गरिँदै जाने प्रतिबद्धता जनाइन्।
तीन तहको सरकारबीचको समन्वय र सहकार्यबाट मात्र देशको दिगो विकास सम्भव हुने उल्लेख गर्दै मन्त्री न्यौपानेले संघीयता सुदृढ गर्नुको विकल्प नरहेको बताइन्। देशका सबै स्थानीय तहमा रहेका कर्मचारीको समस्या समाधानका लागि आफू पूर्णतः प्रतिबद्ध रहेको उनले दोहोर्याइन्।
कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले स्थानीय तहमा कर्मचारी अभावका कारण काम गर्न कठिनाइ भइरहेको बताउँदै संघीय सरकारको सहयोगको अपेक्षा व्यक्त गरेका थिए। सो अवसरमा मन्त्री न्यौपानेले देवघाट क्षेत्र ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण भएकाले यसको समुचित विकासमा संघीय सरकारले चासो दिने प्रतिवद्धता जनाइन्।












