काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा किरण विकले उम्मेदवारी घोषणा गरेका छन्। शुक्रबार एक कार्यक्रममार्फत विकले भैरहवालाई ‘क्रिप्टो भ्याली’ बनाउने प्रमुख एजेन्डासहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
विकले विगत ११ वर्षदेखि राजनीति, फिल्म मेकिङ र लेखनमार्फत रुपन्देही र काठमाडौंमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए। उनले पुराना राजनीतिक नेतृत्वलाई मात्र हटाउने होइन, नयाँ अनुहारहरूलाई पनि सुधार गर्न आफू मैदानमा उत्रिएको बताएका छन्।
“देशमा नयाँ नेता र नयाँ पार्टीहरू देखिए पनि तीले नागरिकका गहिरा र दीर्घकालीन समस्यामा संवेदनशीलता देखाउन सकेनन्,” उनले भने, “नयाँमा समग्र दीर्घकालीन राजनीतिक एजेन्डा नै नदेखिएकाले मैले स्वतन्त्र बाटो रोजेको हुँ।”
किरण विकले आफू नयाँ पुस्ताको प्रतिनिधि भएको उल्लेख गर्दै, नयाँ विचार र प्रविधिनै राष्ट्रनिर्माणको आधार हुने बताए। उनले भैरहवालाई ‘क्रिप्टो भ्याली’ बनाउने, युवालाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि शिक्षामा जोड्ने, र स्थानीय आर्थिक विकासमा नवप्रवर्तनकारी योजना ल्याउने प्रतिवद्धता जनाए।












