काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको मूल उद्देश्य जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र सुशासनमार्फत आर्थिक समृद्धि हासिल गर्नु भएको स्पष्ट पारेका छन्।
राष्ट्रिय विभूति भीमसेन थापाको २५१ औँ जयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान शासन प्रणालीमार्फत नै देशको समृद्धि र राष्ट्रिय जिम्मेवारी पूरा गर्न सकिने बताए।
“इतिहासका विभिन्न कालखण्ड पार गर्दै देश संघीय लोकतान्त्रिक गणतन्त्रतर्फ अघि बढिरहेको छ,” राष्ट्रपति पौडेलले भने, “यही प्रणालीबाट हामीले पुर्खाहरूको बलिदानको मूल्य चुकाउँदै सुशासन र समृद्धिको यात्रा अघि बढाउनु पर्छ।”
उनले अभिशप्त इतिहास बदल्न सबै प्रतिबद्ध हुनुपर्ने धारणा राखे। “हामी निराशालाई आयाममा बदल्न चाहन्छौं,” उनले भने, “नेपाललाई निष्कपट, खुला र उन्नतशील समाज बनाउने हाम्रो लक्ष्य हो।”
राष्ट्रपति पौडेलले वीर पुर्खाहरूको त्याग र बलिदानको स्मरण गर्दै राष्ट्रिय विभूति भीमसेन थापाको योगदानको उच्च प्रशंसा गरे। “थापाको राष्ट्रप्रतिको प्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताले मुलुक स्वतन्त्र र अटल रहन सकेको हो,” उनले भने, “उनको योगदान सदैव स्मरणीय छ।”
कार्यक्रममा राष्ट्रपति पौडेलले कुटनीतिज्ञ भेषबहादुर थापालाई यस वर्षको भीमसेन थापा पुरस्कार प्रदान गरेका थिए।












