काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी रहेका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मधु श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले पदबाट राजीनामा दिएका हुन्।
उनीहरूले आफ्नो राजीनामा पत्र मुख्यमन्त्री बहादुरसिंह लामालाई ह्वाट्सएपमार्फत् पठाएको बताएका छन्। मन्त्रीहरूले राजीनामाको कारणबारे आधिकारिक धारणा सार्वजनिक गरिनसके पनि केही दिनअघि उनीहरूले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेको पाइएको छ। यस भेटपछि उनीहरूको राजीनामा आएकोले यसलाई राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ।












