काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले सरकारका मन्त्रीहरू र उनीहरूको संयन्त्र काममा लचकता नदेखाएको भन्दै संसद्मै तीव्र असन्तुष्टि पोखेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बास्कोटाले दुई तिहाइको दाबी मात्रै गरेर नहुने, काम गरेर देखाउनुपर्नेमा जोड दिए।
काभ्रे र सिन्धुपाल्चोकको सिमानामा रहेको १४ करोड लागतको पुल चार वर्षदेखि अलपत्र रहेको उदाहरण दिंदै उनले निर्माणकार्यको प्रगति प्रति निराशा व्यक्त गरे।
“ह्वाङमा दुईवटा पिलर उठेका छन्, एउटा फक्ल्याँटो हालेका छन्, बाँकी केही छैन,” उनले भने, “१० चोटी भनिसकियो, कान खुल्दैन। काम हुनुपर्यो, रिपोर्टले मात्र हुँदैन।”
काभ्रेकै चाखोलाको पुलको अवस्था पनि उस्तै रहेको उल्लेख गर्दै बास्कोटाले नक्कली रिपोर्ट बनाउने प्रवृत्तिप्रति खनिए। “काम केही नगरी रिपोर्ट आउँछ,” उनले व्यंग्य गर्दै भने, “यस्ता विकास प्रक्रियाबाट मन्त्रीहरू मुक्त होउन्।”
उनले सरकार र मन्त्रालयहरूको कामप्रतिको जवाफदेहीतामाथि प्रश्न उठाउँदै अब व्यवहारिक काम देखिनुपर्ने र जनताले महसुस गर्ने किसिमको विकास चाहिने बताए।












