काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् ।
राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार सो संशोधन संविधानको मर्म, भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यासको प्रतिकूल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम बिहीबार प्रतिनिधिसभामा फिर्ता पठाइएको हो।
उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई गत असार ३१ गते प्रमाणीकरणका लागि राष्ट्रपतिको समक्ष प्रस्तुत गरिएको थियो। राष्ट्रपतिबाट विधेयक फिर्ता भएसँगै अब प्रतिनिधिसभाले पुनः छलफल गरी आवश्यक निर्णय लिनेछ।












