काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा सहभागी हुन रोक लगाउने निर्णय संविधानविपरीत भएको बताएका छन्।
गुरुङले एमालेको निर्णय नेपालको संविधानको मौलिक हकको धारा १७ विपरीत रहेको स्पष्ट पारे। “पूर्वराष्ट्रपतिलाई गैरनागरिक बनाइएको छैन,” उनले भने, “संविधानले नेपाली नागरिकलाई दलीय स्वतन्त्रता प्रदान गरेको छ। दल खोल्ने, प्रवेश गर्ने र गतिविधि गर्ने स्वतन्त्रता सबै नेपाली नागरिकको अधिकार हो।”
उनका अनुसार केवल राष्ट्रिय स्वाधीनताविपरीत कार्य गरेमा वा नागरिकताबाट वञ्चित भएमा मात्र यस्तो स्वतन्त्रता रोक्न सकिन्छ।
एमालेले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने र उचित समयमा निर्णय लिने भनाइ सार्वजनिक गरेपछि माओवादी केन्द्रको यो प्रतिक्रिया आएको हो।
गुरुङले थपे, “पूर्वराष्ट्रपति भएका आधारमा मात्रै नागरिक अधिकार खोस्न पाइँदैन। पदमा हुँदा वा नहुँदा दुवै अवस्थामा उनी संविधानअनुसार नागरिककै हैसियतमा रहन्छिन्।”
उनले पूर्वराष्ट्रपतिलाई राजनीतिमा संलग्न हुन रोक लगाउनु संविधानको मौलिक हकको गम्भीर उल्लङ्घन भएको बताए।
“निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलले मौलिक हकविपरीत कुनै विधान वा नियम बनाउन सक्दैनन्। त्यस्ता निर्णयहरू प्रथम दृष्टिमा नै बदरयोग्य हुन्छन्,” गुरुङको तर्क छ।
यसअघि बुधबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि एमालेको निर्णयप्रति असन्तुष्टि जनाउँदै पूर्वराष्ट्रपतिप्रति गरिएको व्यवहार अनुचित भएको बताएका थिए।












