काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली सेयर बजारमा उत्साहजनक उछाल आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बजार ८०.९७ अंकले उकालो लाग्दै २.७९ प्रतिशतको वृद्धिसहित २,९७३.७० बिन्दुमा पुगेर बन्द भएको हो।
मंगलबारको दिन कुल ३१९ कम्पनीका ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर किनबेच भएका छन्। कुल कारोबार रकम २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँ नाघेको छ, जुन पछिल्लो समयको उल्लेखनीय कारोबार हो।
उत्साहजनक बजार वृद्धिसँगै केही कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन ट्रेड टावर, शिवम् सिमेन्ट, सान्भी इनर्जी र उन्नती सहकार्य लघुवित्त का सेयर मूल्यमा उच्च वृद्धि भएर सर्किट लेभलमा पुगेका हुन्।
विश्लेषकहरूका अनुसार बजारमा देखिएको लगातारको हरियाली पछाडि लगानीकर्ताको सकारात्मक मनोविज्ञान, मौद्रिक नीतिको अपेक्षाअनुसारको प्रभाव, र बढ्दो तरलताजस्ता कारणहरू जिम्मेवार छन्।
पछिल्ला दिनहरूमा कारोबार रकम र सूचकमा देखिएको वृद्धि हेर्दा नेप्से पुनः ३ हजार बिन्दु पार गर्ने नजिक पुगेको विश्लेषकहरूको भनाइ छ। लगानीकर्ताबीच पुनः उत्साह जागिरहेको अवस्थामा बजार अझै उकालो लाग्ने अपेक्षा गरिएको छ।












