काठमाडौं । देशभर साउन ४ गतेसम्म कुल ७२.१४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १२ प्रतिशतले कम हो। गत वर्ष सोही अवधिमा ८४.६ प्रतिशत धान रोपाइँ भइसकेको थियो।
कृषि विभागका अनुसार चालु वर्ष १३ लाख ८३ हजार ७३२ हेक्टर जमिनमा धान रोपाइँ हुने अनुमान गरिएको छ। हालसम्म ९ लाख ९८ हजार हेक्टर क्षेत्रफलमा धान रोपिएको विभागले जनाएको छ।
प्रदेशगत अवस्था:
-
सुदूरपश्चिम प्रदेश: सबैभन्दा धेरै, ९७% रोपाइँ
-
कर्णाली, लुम्बिनी र बागमती: समान ८७%
-
गण्डकी: ७९.२८%
-
कोशी: ६१.७९%
-
मधेस प्रदेश: सबैभन्दा कम, ४६.८३% मात्र
कम रोपाइँको मुख्य कारण
जल तथा मौसम विज्ञान विभागका अनुसार जुलाईदेखि सेप्टेम्बरसम्म मधेसका दक्षिणी भागमा औसतभन्दा कम वर्षा हुने सम्भावना छ। यही कारणले मधेशमा धान रोपाइँमा समस्या देखिएको हो। पानीको पर्याप्त उपलब्धता नहुँदा किसानले धान रोप्न सकिरहेका छैनन्।
स्थिति गम्भीर बनेपछि मधेश प्रदेश सरकारले केही क्षेत्रमा सुख्खा क्षेत्र घोषणा गरेको छ। आइतबार मात्रै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय अवस्था अध्ययन गर्न टोली खटाएको छ।
विशेषज्ञहरूका अनुसार समयमै वर्षा नभएमा रोपाइँ ढिलो हुने र उत्पादनमा समेत असर पर्ने जोखिम रहन्छ। सरकारले तत्काल सिँचाइ व्यवस्थापन र किसानलाई राहत दिने नीति ल्याउनुपर्ने आवश्यकता देखिएको छ।












